रेमिट्यान्स कम्पनी आइएमइले भारतबाट नेपालमा पैसा पठाउनसक्ने सुविधा ल्यायो
Posted on: Dec 08, 2016


काठमाडौं, मंसिर २३ - रेमिट्यान्स कम्पनी आइएमइले भारतबाट नेपालमा पैसा पठाउनसक्ने सुविधा ल्याएको छ । आइएमइले भारतस्थित अक्सिजन लिमिटेडसँगको सहकार्यमा नेपालमा पैसा पठाउन सकिने व्यवस्था मिलाएको हो । यसका लागि नेपालमा भने ग्लोबल आइएमइ बैंकसँगको सहकार्य भएको जनाइएको छ ।

कम्पनीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इन्डो–नेपाल रेमिट्यान्स सेवा सुरु गरेको जनाएको हो । भारतमा रहेका नेपालीलाई मध्यनजर गर्दै भारतस्थित आइडीबीआइ बैंक, युनाइटेड बैंक अफ इन्डिया र एस बैंकका एस मनीका आउटलेटबाट ग्लोबल आइएमइ बैंकका शाखा, आइएमइका सबै शाखा एवं एजेन्टमार्फत् पैसा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवासँगै डलर बेचेर भारु खरिद गर्नुपर्ने बाध्यतालाई पनि केही सहजता दिने आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले बताए । वर्षमा १२ पटक र एकपटकमा ५० हजार भारुसम्म रकम नेपालमा पठाउन सकिने कम्पनीले जनाएको छ ।


Comments