विपन्न नागरिक उपचार सहायता रकम बढाउने तयारी
Posted on: Dec 09, 2016


काठमाडौं, मंसिर २४ – सरकारले आठ प्रकारका कडा रोगको उपचारमा गर्दै आएको सहयोग बढाउने तयारी गरेको छ । यी रोगको उपचारका लागि गरिँदै आएको एक लाख रुपैयाँ उपचार सहयोग बढाएर पाँच लाख रुपैयाँ पु¥याइने बताइएको छ । 

कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका (संशोधित) २०७३ मस्यौदा तयार हुँदैछ  । अहिले मुटु रोग, अर्बुद रोग, अल्जाइमर्स , पार्किन्सस, टाउकामा र  मेरुदण्डमा चोट र  सिकलसेल एनिमियाको उपचारमा मात्र सहयोग दिइँदै आएको छ । ती रोगको उपचारमा दिइँदै आएको राहत रकम पनि पाँच लाख रुपैयाँ पु¥याइने प्रस्ताव मस्यौदा गरिएको छ । 

संशोधन गर्न लागिएको निर्देशिकामा मिगौला रोगीको सम्पूर्ण डायलासिस निःशुल्क र  मिर्गाैला रोगको ‘एक्युट रेनल फेलियर’ भएका बिरामीलाई पाँच लाख रुपैयाँ बराबर औषधोपचार सहुलियत दिन प्रस्ताव गरिएको छ ।

मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई सूचीकृत अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउनसमेत प्रस्ताव गरिएको छ । अहिले डायलासिस निःशुल्क भए पनि प्रत्यारोपणका लागि दुई लाख रुपैयाँ र त्यसपछि औषधिका लागि एक लाख रुपैयाँ मात्रै दिने गरिएको छ । 

चालु आवमा एक अर्ब रुपैयाँ विपन्न नागरिक औषधि उपचार कार्यक्रमका लागि छुट्याइएकामा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले जानकारी दिनुभयो । सहयोग लिनेमध्ये धेरै अर्बुदका बिरामी भए पनि खर्च भने मिर्गाैलाको उपचारमा धेरै हुने विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउनुभयो ।

सरकारले अहिले आठ प्रकारका कडा रोग लागेका बिरामीका लागि एक लाख रुपैयाँ छुट्याउँदा वार्षिक एक अर्ब रुपैयाँ भन्दा धेरै खर्च हुने गरेको छ भने प्रस्ताव संशोधन भई प्रत्येक बिरामीले पाँच लाख रुपैयाँका दरले सहयोग प्राप्त गर्ने हो भने पाँच अर्ब रुपैयाँ बढी खर्च लाग्ने देखिन्छ । सरकारले विभिन्न ३१ सरकारी तथा निजी अस्पतालबाट अहिले यी रोगको उपचार गर्दै आएको छ । निर्देशक डा. केसीले अन्य अस्पतालले पनि सो कार्यक्रम सञ्चालनका लागि अनुमति मागिरहेको बताउनुभयो । – रासस


Comments