निर्माणाधिन फटकशिला खानेपानी योजना अन्तिम चरणमा
Posted on: Jul 12, 2017


मेलम्ची नगरपालिकाको सहयोगमा निर्माणाधिन फटकशिला खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । जमिन मुनिको पानीलाई बोरिंग गरेर घर घरमा खानेपानी पुर्याइने सो योजनाबाट फटकशिलाका एक हजार ७६ घरधुरी लाभान्वित हुनेछन् । नगरपालिकाको ६२ लाख ५० हजार रुपैंया, हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमबाट १५ लाख र संसद पूर्वाधार विकास कोषबाट १० लाख रुपैंया लगानी गरी सो योजना सम्पन्न गर्न लागिएको हो । आज सो योजनाको अनुगमन गर्नुहुँदै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले फटकशिलाका जनताको स्वच्छ खानेपानी खाने चाहना चाँडै नै पुरा हुन लागेकोमा आफु खुसी रहेको बताउनुभयो । बोरींग गर्दा सो स्थानमा ३० मिटर गहिराईमा नै पानी निस्कीए पनि हिंउदलाई समेत लक्षित गर्दै थप गहिराईका लागि बोरिंग गर्ने योजना छ ।


Comments