खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित
Posted on: Aug 04, 2017


खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खर्चको अख्तियारी नदिँदा दोस्रो र तेस्रो किस्ता पीडितलाई निकासा दिन नसकेको जिल्ला समन्वय समितिका योजना अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । उहाका अनुसार अनुदान निकासाका लागि प्राविधिक प्रमाणीकरण भएर समन्वय समितिमा आएका फाइलको चाङ लागेको छ ।
प्राधिकरणले अनुदान वितरण गर्न समन्वय समितिलाई खर्चको अख्तियारी दिने र सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन एकाइ को प्रमाणीकरणका आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत सम्बन्धित पीडितको बैंक खातामा अनुदान किस्ता जाने प्रक्रिया थियो । 
समन्वय समितिका अनुसार सोही कारण पीडितलाई अनुदानमा प्राधिकरणले खर्चको अख्तियारी दिएको ९९ सय करोडमध्ये ४५ करोड रुपैयाँभन्दा बढी फिर्ता (फ्रिज) भएको थियो ।
जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार दोस्रो किस्ता माग गर्दै निवेदन दिएका ११ हजार ९७ मध्ये नौ हजार सात सय ९८ को मात्रै भुक्तानीका लागि प्राविधिक प्रमाणीकरण भएको छ । यसमध्ये सरकारी अनुदान र संघ–संस्थाको सहयोगबाट झन्डै सात हजारले मात्र दोस्रो किस्ता पाएको समन्वय समितिको तथ्यांक छ । 
पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्तामा डेढ र तेस्रो किस्ताबापत एक लाख रूपैयाँ दिने सरकारको नीति छ । भवन डिभिजन, आयोजना कार्यान्वयन एकाइका इन्जिनियर टंक गौतमका अनुसार जिल्लामा १४ हजार आठ सय पाँच घर निर्माणाधीन छन् । भवन संहिताअनुसार संरचना नबन्दा दोस्रो किस्ता माग गर्ने तीन सय २४ पीडितको निवेदन प्रमाणीकरण हुन नसेको उनले बताए ।
त्यस्तै ६ सय ६५ ले तेस्रो किस्ता माग गर्दै निवेदन दिएकोमा चार सय ४५ को मात्र भुक्तानी प्रमाणीकरण भएको छ ।


Comments