१२ विदेशी नागरिक अझैं फरार
Posted on: Oct 04, 2017


२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ विदेशी नागरिक अझैं फरार छन् । उनीहरुलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन ।
विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।
सुन तस्करीको अभियोगमा लिजुएन, जुल्पिङ झो पिङलगायत नौ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले दश वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो । उनीहरुलाई थुनुवा कोठामा राखिएको थियो ।
त्यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ– ६ निवासी तेञ्जिङ छिरिङ भुटियालाई आठ वर्ष कैद र रु नौ लाख ८५ हजार ३१६ जरिवाना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा नौ वर्ष कैद तथा रु एक लाख जरिवाना गरिएको थियो । त्यस्तै खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छ ।
फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउछन् । कारागारबाट भागेका नेपाली कैदीलाई क्रमिकरुपमा पक्राउ गरिएको र विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।


Comments