​विस्थापितहरुमा चिसो र रोजीरोटीको समस्या
Posted on: Dec 29, 2017


सिन्धुपाल्चोकको जुगल गाउपालिका १ बासखर्कमा ५५ घर, परिवार पाल, त्रिपाल टागेर बसेका छन् । गाँउभरी नै सानो, सानो टहराले बारेर बनाईएका घर छन् । झट्ट हेर्दा लाग्छ, उनीहरु बर्षौ देखि यहि छन् । तर उनीहरु बिस्थापित हुन् । 
सिन्धुपाल्चोकको जुगल गाउपालिका १ पुग्दा ७० बर्षिया सोमबहादुर श्रेष्ठ डोकाको लागी चियो काट्रदै हुनुहुन्थ्यो । उहाँको छोरा, छोरी छैनन् । श्रीमतिको १० वर्ष पहिलेनै मृत्यु भयो । आफु जन्मेकै भूमिमा जीवन कटाउछु भन्ने उहाँलाई लागेको थियो । तर उहाँको गाँउ सेलाङ भूकम्पिय दृष्टिले सुरक्षित नभएपछि उहाँ बिस्थापित हुनुभयो ।
वासखर्कमा सेलाङ , स्याउले ,बतासे र गोल्चेका ५५ भूकम्प पिडित परिवारहरु बस्दै आएका छन् ।  आफ्नो जन्मथलोमा बस्न सक्ने अवस्था नभएपछि उनीहरु बिस्थापित भएर समुदायिक जग्गामा बस्दै आएका हुन् । वतासे खाल्डेबाट बिस्थापित भएर आउनुभएका सन्च कुमारी श्रेष्ठलाई अहिले   के खाने, कसरी बस्ने चिन्ता छ  ।
यहि बर्ष देशमा तीन तहका निर्वाचन भए । नेता देखि एनजीओ, आइएनजीओका प्रतिनिधिले बिस्थापितका लागि मीठा आश्वासन नदिएका होईनन् । तर उनीहरुको दीगो व्यवस्थापनका लागि कसैले ठोस पहल गरेन । ।सेलाङ चेपेबाट बिस्थापित कृष्णमाया तामाङ सरकारी प्रतिनिधि पनि चिल्ला गाडीमा बासखर्क पुग्छन् र समस्या हेरेर मात्रै फर्कन्छन् भन्नुहुन्छ ।
विस्थापितहरुमा चिसो र रोजीरोटीको समस्या संगै देखिएको छ । आफुहरुलाई सरकारले एकीकृत वस्ती निर्माणको लागि पहल वा सामुदायिक जग्गा उपलग्ध गराईदिए सहज हुने उनीहरुको धारणा छ । 


Comments