​सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी
Posted on: Jan 26, 2018


बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी छ। सुरूङको सिन्धु अडीटदेखि ग्याल्थुससम्मको क्षेत्रमा मात्रै खन्न बाँकी रहे पनि अन्य काम बाँकी रहेकोले पानी काठमाडौं पुग्ने मितिमा भने अन्यौलता कायम भएको हो।
२६ किलोमिटर लामो मुख्य सुरूङ मध्ये २५ किलोमिटर ६ सय ७० मिटर सुरूङ खनिसक्दा पनि पूर्वाधारका अन्य काममा भएको ढिलाईले आयोजना समयमै सम्पन्न हुनेमा अन्यौलता देखिएको हो।
पटक पटक समय परिवर्तन गर्दै अन्तीम समयमा २०७५ को नयाँ वर्षसँगै पानी राजधानी भित्र्याउने लक्ष्य लिए पनि सुरुङको फिनिसिङ, पानी लाने ड्याम निर्माण, सुरूङबिचको कनेक्सन आदिले आयोजनाले तोकेको समयमा पानी राजधानी पुग्न कठिन रहेको आयोजनाका कर्मचारीहरू बताउँछन्।
यसैबिच सुरूङ छेड्ने काम अन्तिम चरणमा पुगेसँगै सुरूङमा पानी लान आवश्यक ‘फाइनल सपोर्ट र इन्भर्ट लाइनिङ’ निर्माणको काम पनि सुरू गरिएको छ।
आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहे पनि भौगोलिक र अन्य कारणले तल माथि हुनसक्ने उपकार्यकारी निर्देशक भोजविक्रम थापाले बताउनुभयो । 


Comments