मेलम्चिमा सांस्कृतिक अवस्था विषयमा अन्तरक्रिया
Posted on: Mar 07, 2018


मेलम्चीमा आज सिन्धुपाल्चोक जिल्लाको सांस्कृतिक अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा डम्बर रसिक भारतीले सिन्धुपाल्चोक जिल्लाको सांस्कृतिक अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । जिल्लाका जातजातिको अवस्था, संगीत, कला, बाजागाजा आदि विषय समेटिएको सो कार्यपत्रउपर कवि चन्द्रप्रसाद न्यौपानेले टिप्पणी गर्नुभयो । कार्यपत्रमा पूरा विषयवस्तु नसमेटिएकाले यसलाई पूर्ण गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामांगले जिल्लाको सांस्कृतिक अवस्थाबारे गहन खोजअनुसन्धान गरी लिपिबद्ध गर्नुपर्ने बताउनुभयो । यसका लागि बाह्रैओटा स्थानीय तहसँग समन्वय गर्ने पनि वचन दिनुभयो ।
विशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सिन्धुको सांस्कृतिक अवस्थालाई सांगठनिक रुपमा लिपिबद्ध गर्नुपर्ने र यसमा नगरले सकेको सघाउने बताउनुभयो । 
प्राज्ञ उदय श्रेष्ठले कार्यपत्र जगको एउटा इँटा भएकाले पूर्ण घर बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यपत्रबारे भगवती नेपाल, बालकृष्ण देउजा, बालकुमारी सापकोटा, देवीप्रसाद थपलिया, राजेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ लगायतले सुझाव पेस गर्नुभयो ।


Comments