मानव बेचविखन र सुरक्षित आप्रवासन सम्बन्धि नीतिगत छलफल
Posted on: Mar 21, 2018



 

सिन्धुपाल्चोक जिल्लाको चौतारामा मानव बेचबिखन,सुरक्षित आप्रावासन र लैङ्गिक समानता सम्बन्धि नीतिगत छलफल कार्यक्रम सम्पन्न भएको छ । यूएन वुमन र जोन्टा इन्टरनेसनलको सहयोग तथा इक्वेल एक्सेससंगको सहकार्यमा सामुदायिक सारथीले आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । 

चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमान सिंह तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमममा नगर तथा वडाका जनप्रतिनिधिहरु,सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, गैरसकारी संस्था महासंघ जिल्ला शाखाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु र नागरिक समाजका अगुवा एवं मानवअधिकारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख तामाङले शुभकामना मन्तव्य राख्नुहुँदै कार्यकमको उदेश्य तथा लक्ष्य राम्रो रहेकोले आगामी दिनमा यस्ता नीतिगत कार्यक्रमहरुलाई चौतारा साँगाचोक गढी नगरपालिकामा मात्रै नभएर जिल्लाभरी नै संचालन गर्न सुझाव दिनुभयो । अधिवक्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक मिलन श्रेष्ठले नीतिगत तथा ऐनले ब्यवस्था गरेका वर्तमान कानुनी प्रावधान बारेमा सहभागीहरुलाई प्रष्ट पार्नुभयो । कार्यक्रमका सहभागीहरुलाई चारवटा समुहमा विभाजन गरि समुहगत रुपमा मानव बेचबिखन, सुरक्षित आप्रावासन र लैङ्गिक समानतामा ऐन तथा नीतिगत पैरवीका लागी स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकाले ब्यवस्था गर्नुपर्ने नीतिगत रुपमा देखिएका कमीकमजोरीका कारणहरु बारे सुझाव संकलन गरिएको थियो । साथै ऐन तथा नितिहरुको सहि कार्यन्वयन हुन नसक्नुका कारणहरु र त्यसका लागि सुधारात्मक उपायहरु जस्ता विषयमा समेत  समुह छलफल गरि कार्यपत्रका रुपमा समुहगत प्रस्तुति मार्फत सल्लाह सुझाव संकलन गरिएको थियो । 
कार्यक्रममा सहभागीहरुको जिज्ञासा बारे प्रष्ट पार्दै सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले कानुन तथा नीति नियम ऐनमा उल्लेख भएता पनि कतिपय मानव बेचविखनका घटनाहरु तथा असुरक्षित आप्रवासन जस्ता विविध घटनाहरु बाहिर आउन नसकेको हुँदा सामुदायिक सारथीले अहिलेको आवस्यकता महशुस गरि यो कार्यक्रम सिन्धुपाल्चोकमा संचालन गरेको बताउनुभयो ।

सामुदायिक सारथीले यस अघि मानब बेचविखन तथा सुरक्षित आप्रवासनसंग सम्बन्धित बिद्यालय स्तरीय कथा लेखन र जिल्लाब्यापी लोक दोहोरी प्रतियोगिता सम्पन्न गरिसकेको सारथीका जिल्ला संयोजक हिरा ब खड्काले जानकारी गराउनुभयो । आगामी २०७५ बैसाख महिनामा चौताराको टुडिखेलमा मेला आयोजना गरिने र उक्त मेलामा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट महिला सशक्तिकरण सम्बन्धि नाटक तथा प्रस्तुती, प्रर्दशनीहरु, कथा लेखन र लोक दोहोरीमा उत्कृष्ट स्थान हासिल गर्नेहरुलाई पुरस्कार वितरण समेत गरिने कुराको जानकारी समेत सो अवसरमा दिईएको थियो । 


Comments