तीनवर्षदेखि बन्द रहेको तातोपानी नाका खुलाउने काम चिनियाँ पक्षबाट शुरु
Posted on: Apr 01, 2018


चैत्र १८,सिन्धुपाल्चोक, तीनवर्षदेखि बन्द रहेको तातोपानी नाका खुलाउने काम चिनियाँ पक्षबाट शुरु भएको छ । तातोपानी नाका खुलाउन खासा क्षेत्रमा करिब ३ सय चिनियाँ सुरक्षाबलको टोलीले सरसफाई गरिरहेको छ । यसैगरी लार्चास्थित सुख्खा बन्दरगाह निर्माणको काम पनि केही दिनदेखि चिनिया पक्षले संचालन गरेको भोटेकाशी गाउँपालिकाले जनाएको छ । सुख्खा बन्दरगाह निर्माण कार्यमा संलग्न यसअघिकै चिनियाँ ठेकेदार कम्पनी सी.आर.सी. का टोलीले लार्चामा काम थालेको बताइएको छ । 

ठेकेदार कम्पनी सीआरसीका १५–१६ जनाको चिनियाँटोली र करिब ४० जना नेपाली कामदारहरुले दैनिक रुपमा लार्चास्थित सुख्खा बन्दरगाहमा काम गरिरहेको गाउपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले सुख्खा बन्दरगाह क्षेत्रमा डोजर र लोडरसहित निर्माण कार्यमा प्रयोग हुने उपकरणहरु धमाधम ल्याउन थालेको छ । 

तातोपानी नाका खुलाउने सन्दर्भमा पछिल्लो पटक अर्थमन्त्रालयका सचिव र चिनिया राजदूतबीच भएको सम्झौता बमोजिम तातोपानी नाकामा यस्तो काम शुरु भएको जनाएको छ । भूकम्पकै कारणले बन्द भएको तातोपानी नाकामा लार्चास्थित सुख्खा बन्दरगाह निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले शुरु गरेको विषयमा स्थानीय प्रशासनलाई भने हालसम्म कुनै जानकारी नआएकोप्रमुख जिल्ला अधिकारी आशमान तामांगले बताउनुभयो । 


Comments