दुग्ध ब्यवसायवाट राम्रो आम्दानी
Posted on: Apr 03, 2018


चैत्र २०,सिन्धुपाल्चोक, भूकम्पपछि धर्मराएको सिन्धुपाल्चोकको दुग्ध व्यवसाय लयमा फर्केको छ । भूकम्पले ढालेका घर, गोठमा किचिएर हजारौं गाई, भैंसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि पहिलाकै अवस्थामा फर्केको हो ।

भूकम्पका कारण जिल्लाको दूध व्यवसाय भएका क्षेत्रमा मात्रै झन्डै १० हजार गाईं, भैंसी मरेका दुग्ध उत्पादन संघका पूर्वकेन्द्रीय सदस्य इन्द्रमणि दाहालले बताउनुभयो ।

दाहालका अनुसार अहिले जिल्लाबाट दैनिक २० हजार लिटर दूध संकलन भइ राजधानी निर्यात भइरहेको छ । भूकम्पपछि दूध उत्पादन आधा घटेर १० हजार लिटरमा खुम्चिएको थियो । दुग्ध व्यवसाय लयमा फर्केपछि किसानले पूर्ववत् अवस्था झैं दैनिक १० लाख रुपैयाँ आम्दानी गाउँ भित्र्याइरहेका छन्।

सिन्धुपाल्चोक दूग्ध उत्पादनका लागि उर्भर भूमि मानिँदै आएको छ । परम्पराबाट केही माथि उठेर उन्नत जातका गाईं, भैसी पाल्दै दुग्ध उत्पादनलाई व्यावसायिक बनाउँदै लगेका यहाँका किसानले दूध बिक्री गरेर मनग्गे आम्दानी लिँदै आएका छन् । झन्डै डेढ सय दुग्ध सहकारी र कृषि फार्ममार्फत दुग्ध पदार्थ संकलन हुने गरेको छ । जिल्लामा दूध संकलनका लागि सयभन्दा बढी सहकारी र २० भन्दा बढी कृषि फार्म सक्रिय छन्।


Comments