मेयर कप फुटबल जारी, चौतारा स्पोर्टिङ क्लब र अंधेरी युवा क्लब विजयी
Posted on: Apr 04, 2018


चैत २१ , चौतारा ,  जिल्लाको चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको तेस्रो र चौंथो खेलमा चौतारा स्पोर्टिङ क्लब र अंधेरी युवा क्लब विजयी भएका छन् । बुधबार भएको खेलमा चौताराले ठूलोसिरुवारी युवा समूह र अंधेरीले लिः लः फङ (घले समाज)लाई पराजित गरेका हुन् ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा चौतारा स्पोर्टिङले ठूलोसिरुवारीलाई ६–० को फराकिलो अन्तरले पराजित ग¥यो । चौताराका विक्रान्त नरसिंह रानाले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता दिलाए । चौताराकै रेशम ठकुरीले सातौं मिनेटमा गरेको प्रहारलाई ठूलोसिरुवारीका गोलकिपरको प्रयास असफल हुँदा अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २५ औं मिनेटमा मोहन तामाङको प्रहारले जाली चुम्यो । प्रतियोगितामा आफ्नो नाममा गोल संख्या दुई बनाउँदै विक्रान्त नरसिंहले ३९ औं मिनेटमा अर्काे गोल थपे ।
ठूलोसिरुवारीमाथि चौतारा हावी भइरहँदा ४८ आंै मिनेटमा विश्वास परियारले अर्काै गोल थपे भने खेलको ६८ औं मिनेटमा सविन सापकोटाले शानदार गोल गर्दै नतिजा ६–० पु¥याए । यो खेलमा चौताराका रोशन अधिकारीलाई म्यान अफ दी म्याच घोषित गर्दै प्रोत्साहन रकम स्वरुप तीन हजार र ट्रफी प्रदान गरियो ।
त्यस्तै बुधबार भएको दोस्रो प्रतिष्पर्धात्मक खेलमा अँधेरीले लिः लः फङलाई १–० ले हरायो । अँधेरीका खेलाडीले प्रहार गरेको फ्रि–किक लिःलः फङका गोलरक्षकको हातबाट बल छुटेपछि चनाखो खेलाडी अँधेरीका मनिष थापाले परिणत गरेको गोल नै निर्णायक बन्यो । लिः लः फङले बनाएको दर्जनअधिक मुभलाई अँधेरीका गोलरक्षक एञ्जल श्रेष्ठले विफल तुल्याए ।
आज भएको प्रतियोगिताको दोस्रो खेल निकै प्रतिष्पार्धात्मक बनेको थियो । जितपछि अँधेरीका प्रशिक्षक सुनिल शाहीले आफ्नो टीमले राम्रो खेलेकै कारण नजिता आफ्नो पक्षमा भएको प्रतिक्रिया दिए । ‘लिः लः फङको खेल पनि प्रशंसालायक थियो, तर, तर नजिता हामीले लिल सफल भयौं ।’ उनले लिः लः फङको प्रहार सफल हुन नदिनु नै जित टोलीको सफलता भएको बताए ।
लिःल फङका प्रशिक्षक युवराज घलेले टोलीले राम्रो खेल्दा खेल्दै पनि पराजित भएको प्रतिक्रिया दिनुभयो । ‘निकै राम्रा मुभमेन्टहरु भयो, तर पनि हामी सफल हुन सकेनौं,’ उहाँले भन्नु भयोे, ‘सायद हाम्रो भाग्यमै थिएन ।’ यो खेलमा लिःल फङका सन्देश गुरुङ म्या अफ दी म्याच चुनिए ।
२० गतेबाट सुरु भएको खेल ३० गतेसम्म चल्नेछ । यो प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख र द्धितीय हुने टिमलाई रु एक लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ४२ इन्च एलइडी टेलिभिजन दिइने आयोजक तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो । 


Comments