​प्राकृतिक स्रोत प्रयोगबापत २५ प्रतिशत रोयल्टी सुनिश्चित गर्ने कानुन निर्माण गर्न माग
Posted on: Apr 13, 2018


चैत्र ३०,सिन्धुपाल्चोक, मेलम्ची खानेपानी आयोजना प्रभावित गर्ने चेतावनी स्थानीयले दिएका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ निर्माण पूरा गरी हिजै गरिएको उद्घाटन कार्यक्रममा आयोजना प्रभावित समूहका तर्फबाट ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालक समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीयको माग पूरा नगरे आयोजनाको दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी दिनुभएको हो । उहाँले स्थानीयबासीको अधिकार पूरा नगरे ३ महिना नभइ पाँच बर्षसम्म पनि काठमाडौंमा मेलम्चीको पानी जान नदिने बताउनुभएको हो । 
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले काठमाडौंलाई सिन्धुपाल्चोकको पानी चाहिएपछि काठमाडौंले पनि सिन्धुपाल्चोकलाई हेर्नुपर्ने बताउनुभयो । मन्त्री तामाङले स्थानीय प्राकृतिक स्रोत साधनमा स्थानीय जनताको हक संविधानमै उल्लेख भएको बताँउदै कानुनमा राष्ट्रिय गौरबका आयोजनामा स्थानीयको प्राकृतिक स्रोत प्रयोगबापत २५ प्रतिशत रोयल्टी सुनिश्चित गर्ने कानुन निर्माण गर्न लागेको पनि जानकारी गराउनुभयो । 
कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सुरुङमार्ग पूरा हुँदा आफूले मात्र नभई यसको निर्माणमा जुटेको सिंङ्गो टिमले गौरवको महसुस गरेको भन्दै काठमाडौंबासीको मेलम्ची खानेपानीको सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्थानीयका समस्या र स्थानीयले पाउने रोयल्टीका बारेमा ठूलो समस्या नभएको बताउनुभयो । स्थानीयको मागलाई स सम्मान समाधान गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । 


Comments