​मजुवा बगर – कोटडाँडा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन ।।
Posted on: Apr 22, 2018


बैशाख ९,सिन्धुपाल्चोक ,सिन्धुपाल्चोकको सानु सिरुवारीमा ६ महिनामै गाउँलेले सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरेर पानी सदुपयोग गर्ने सपना साकार पारेका छन् । ३२ लाख रुपैयाँ बराबरको श्रमदानै गरेको उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो ।खानेपानी धारा वितरण र जडान सकेसङगै आयोजनाको उद्घाटन पनि भएको छ । उर्जा मन्त्री वर्षमान पुनले सिन्धुपाल्चोकको सानुसिरुवारी स्थित मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पुनले पानी तान्ने समय बाहेक अन्य समय खेर जाने सौर्य विद्युत्तलाई केन्द्रीय प्रसारणमा जोडि उपभोत्ता समितिलाई महसुल तिर्ने वातावरण तयार पार्ने बताउनुभयो । 
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, जनहित ग्रामिण सेवा समितिवाट संरचना निर्माण तथा सम्पुर्ण सिभिल कार्य, वैकल्पिक उर्जा प्रबर्धन केन्द्र वाट सोलार, पम्प जडान र फीटिङ कार्य, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय वाट केही प्राविधक, सामाग्री सहयोग र चौतारा सांगाचोकगढी नगरपालकिा– ७ तथा जनसहभागितामा छोटो अवधीमै योजना सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युबराज दुलाल सरद, बैकल्पीक उर्जा प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएको उपस्थिति रहेको थियो ।
एक घर एक धाराको अवधारणा लिएर वनेको यस आयोजनामा हाल मजुवा बगर स्थित खानेपानीको मुहान देखि वितरण लाइन सम्ममा इन्टेक – १, विपिटि – ३, सेडिमेन्टेसन ट्याङ्की – १, रिजर्ववायर ट्याङ्क – १, इन्टरप्सन च्याम्वर – १, व्यक्तिगत धारा – २२०, मुख्य पाइपलाइन – १४ सय ५२ मिटर, वितरण पाइपलाइन – २० हजार ८ सय ६४ मिटर, सार्वजानिक धारा ४ सहित निर्माण सम्पन्न भई उद्घाटन भएको हो ।
 १२ हजार ४ सय वाट क्षमताको सोलार प्यानले लिफ्टिङ गरेको मजुवा बगरको पानी १४ सय ५२ मिटरमाथिको संकलन ट्यांकीमा र्पुयाएपछि घर–घरमा बितरण भइरहेको छ। इन्टेकमा संकलन भएको पानी पहिलो ४८ वटा सोलार प्यानले तानेर पहिलो ट्यांकीमा र्पुयाउँछ। पहिलो ट्यांकीमा संकलन भएको पानी दोस्रो ४८ वटै सोलार प्यानलले लिफ्टिङ गरी अन्तिम अर्थात संकलन ट्यांकीमा र्पुयाउँछ।
यो आयोजनाले साविक सानुसिरुवारी गाविसका वडा नं. १,२,३ र ९ का साथै साविक चौतारा–२ का केही घरपरिवारलाई लाभ दिएको छ । आयोजनामा श्रमदान सहित झण्डै पौने २ करोड रुपैयाँ लगानी भएको छ । यो जिल्लामै पहिलो सोलारजडिट लिफ्टिङ खानेपानी आयोजना हो।
आयोजना बन्नपुर्व चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेलेका थिए । जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोडेको थियो ।   खानेपानी अभाव टार्न दशकअघि स्थानीयले झण्डै ३५ किमी टाढाबाट ल्याएको जुगल–थालखर्क–होल्चे खानेपानी आयोजनाको साहारा लिनु लिएपनि संकट टरेन ।
वल्र्ड भिजन नामक अन्तर्रा्ष्ट्रिय गैह्रसरकारी संस्थाले झण्डै १ करोड ३० लाख रुपैयाँ दिएको थियो । यस्तै जनहित ग्रामीण सेवा समितिले स्थानीय साझेदार संस्थाको रुपमा काम सम्पन्न गरेको छ ।  वैकल्पिक उर्जाले ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
उपभोक्ता समितिले आयोजना निर्माणमा सहयोग गर्नेलाई सम्मान समेत गरेको छ ।


Comments