​मेलम्ची आयोजनामा ठेकेदार कम्पनी सिएमसीद्रारा ठूलो रकम दाबी गर्दै निर्माणमा ढिलासुस्ती
Posted on: May 31, 2018


जेष्ठ १६,सिन्धुपाल्चोक, हाल भइरहेकै गतिमा निर्माणकार्य अघि बढे काठमाडौं उपत्यकावासीले आगमी दशैँमा पनि मेलम्चीको पानी पिउन नपाउने भएका छन् । ठेकेदार कम्पनी सिएमसी ले ठूलो रकम दाबी गर्दै निर्माणमा ढिलासुस्ती गरेकोले आउँदो दशैँसम्म पनि पानी पिउन नपाउने स्थिति बनेको हो । मेलम्चीमा अहिलेसम्म बाँध निर्माणकार्य शुरु नै भएको छैन, सुरुङभित्र ‘फिनिसिङ’को काम सम्पन्न भए अस्थायी बाँध बनाएर भए पनि पानी आपूर्ति गराउने योजना त बनेको छ । तर, ‘टनेल फिनिसिङ’को काम नै दशैँसम्ममा सम्पन्न हुन नसक्ने देखिएको छ । कुल साढे सत्ताइस किलोमिटर सुरुङमध्ये हालसम्म साढे चार किलोमिटर मात्र ‘फिनिसिङ’ भएको छ ।

यसअघि बाँध क्षेत्रको सुरुङद्वार आसपास भएको कामबापत ठेकेदार कम्पनीले एक अर्ब पैंसठ्ठी करोड रुपैयाँ माग दाबी गरेकोमा सरकारले अठ्ठाइस करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । तर, सीएमसीले आफूले दाबी गरेको पूरै (एक अर्ब पैँसट्ठी करोड) रकम पाएमा मात्र निर्माण कार्यलाई गति दिन सकिने बताउँदै आएको छ । यसरी सरकारी पक्ष र ठेकेदार कम्पनीबीच रकमको विषयलाई लिएर तनाव उत्पन्न भएपछि यही जेठ २३ गते विवाद समाधान समितिको बैठक बोलाइएको छ । उक्त बैठकले निर्माणकार्यलाई गति दिन दुईपक्षीय विवादका विषयलाई समाधानका उपाय निकाल्ने बताइए पनि सीएमसी आफूले दाबी गरेको रकम नपाएसम्म निर्माणकार्यलाई गति दिने पक्षमा नरहेको बुझिन्छ । सरकारले के आधारमा कसरी ठेकेदारको दाबी रकम उपलब्ध गराउन सक्छ, यतिबेला जिज्ञाशाको विषय बनेको छ ।
सरकारले गत वर्षको दशैँअघि नै मेलम्चीको पानी उपत्यकावासीलाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको थियो । त्यसपछि गत चैत मसान्तसम्ममा त पानी उपलब्ध गराउने बताइएको भए पनि आमजनताले सरकारको भनाइमा विश्वास गर्न छोडिसकेका छन् ।


Comments