काश्मिरमा गोली लागेर ६ पाकिस्तानीको मृत्यु, २२ जना घाइते
Posted on: Oct 29, 2016


कात्तिक १३ – सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिकको ज्यान गएको पाकिस्ताने बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर गएको बिहीबार शकरगढ सेक्टर र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा भएको गोली हानाहानमा दुई महिलासहित आफ्ना ६ नागरिकको ज्यान गएको जनाएको छ । यस्तै अन्य २२ जना घाइते भएका छन् ।

घटनामा आफ्ना दुई सैनिक र एक बालकको ज्यान गएको भारतले जनाएको छ । यस्तै १२ जना घाइते भएका छन् । भारतीय पक्षबाट कारण बिना नै गोली चलाएको भन्दै पाकिस्तानले निराशा व्यक्त गरेको छ । सन् २००३ को युद्धविरामको पालना गरेर नियन्त्रण रेखा तथा सीमामा शान्ति कायम राख्नका लागि भारतसँग पाकिस्तानले आग्रह गरेको छ । 

पाकिस्तानले विज्ञप्ति निकालेर ग्रामीण बासिन्दा तथा आम नागरिकलाई निशाना नबनाउन पनि आग्रह गरेको छ । भारत र पाकिस्तान दुवै देशले नियन्त्रण रेखामा बिना उक्साहट गोली चलाएको आरोप एक अर्कामाथि लगाउँदै आएका छन् । 

दुई देशबिचको तनावका कारण जम्मु–काश्मिर क्षेत्रका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् । सीमा क्षेत्रका धेरै गाउँका बासिन्दा विस्थापित भएका छन् । (उज्यालो अनलाईन )


Comments