पाकिस्तानमा विमान दुर्घटना: ४८ जनाको ज्यान गयो
Posted on: Dec 08, 2016


मंसिर २३ – पाकिस्तानमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ४८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) को विमान बुधबार दुर्घटनाग्रस्त भएको हो ।खैबर पख्तुन्ख्वान प्रान्तको चितरालबाट राजधानी इस्लामावादका लागि उडेको विमान ४२ यात्रु र चालक दलका ६ सदस्य गरी ४८ जना रहेका थिए । दुर्घटनामा सबैको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ । पिके–६६१ उडानको विमान इस्लामावादबाट ७० किलोमिटर उत्तरमा रहेको हावेलिएन क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । राष्ट्रिय ध्वजावहाकमाथि यसअघि सुरक्षात्मक कमजोरी हुने गरेको आरोप लगेको थियो । तर यसपटक विमानमा प्राविधिक कमजोरी नदेखिएको पिआइएले जनाएको छ । पिआइएले दुर्घटना दुखद रहेको बताएको छ ।

दुर्घटनामा ज्यान जानेमा तीन जना विदेशी नागरिक पनि छन् । दुर्घटनामा पप गायकबाट धार्मिक गुरु बनेका जुनैद जमशेदको पनि ज्यान गएको छ ।


Comments